Friday, February 14, 2014

पत्रकारलाई प्रधानमन्त्रीको जवाफ !

प्रधानमन्त्री चयनका लागि  सोमबार विहान ११ बजे बोलाइएको व्यवस्थापिका संसदको बैठक एक घण्टापछि १२ बजेमात्रै सभामुख सूर्यबहादुर थापाले सुरु गरे । कोइरालाको उम्मेदवारी निर्णयार्थ प्रस्तुत गरियो । उनको पक्षमा ४०५ र विपक्षमा १४८ मत आयो । कोइराला औपचारिकरुपमा संसदबाट नेपालको ३७ औँ प्रधानमन्त्रीमा निर्वाचित भए ।

विपक्षमा मतदान गरेका एमाओवादी, राप्रपा नेपाललगायतका विपक्षी दलका नेताहरु हतार-हतार बिहिरिए । सत्तापक्ष एमालेका नेताहरु पनि संसद भवनबाट निस्किएर आ-आफ्नो बाटो लागे ।

 बाहिर नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालालाई स्वागत गर्न कांग्रेसी कार्यकर्ता, सुभेच्छुकको भवन परिसरमै बाक्लै उपस्थिति थियो ।


निकै उत्साहित मुद्रामा प्रस्तुत भएका उनीहरुमा एउटा हतारो के देखिन्थ्यो भने कतिबेला प्रधानमन्त्री कोइराला बाहिरिन्छन् भने ? उनीहरुजस्तै पत्रकारहरु नवनिर्वाचित प्रधानमन्त्री कोइरालाको औपचारिक बाइट लिन कुरिरहेका थिए । बाक्लो सुरक्षाकर्मी र मर्यादापालकहरुले पत्रकारहरुलाई मिलाएर बसाउन र सुरक्षाको बन्दोबस्त गर्न निकै हम्मे-हम्मे परिरह्यो ।

एक घन्टाजति । नवनिर्वाचित प्रधानमन्त्री बाइट लिन पर्खाइमा बाहिर कुरिरहेका पत्रकारहरु थाकेका थिएनन् बरु कतिवेला प्रधानमन्त्री निस्किन्छन् र प्रधानमन्त्रीको भनाइ लिउँला भनेर धैर्यतापूर्वक बसिरहेका थिए ।

 संसद बैठक सकिएको भन्डै एक घण्टापछि निर्वाचित प्रधानमन्त्री कोइराला बाहिर निस्किना साथ पत्रकारले घेरिहाले र सोधे- प्रधानमन्त्री भएकोमा कस्तो लागेको छ ? मन्त्रिमण्डल कहिलेसम्म विस्तार हुन्छ ? मन्त्रिमण्डलको आकार कत्रो हुन्छ ? तर, पत्रकारले सोधेका कुनै प्रश्नको कोइरालाले ठोस जवाफ दिएनन् र ‘मैले डिटेलमा संसद बैठकका सुरुमै भनेको छु’ भन्दै टार्न खोजे । तैपनि पत्रकारहरुले छोडेनन् ।

त्यसपछि कोइरालाको जवाफ आयो- कांग्रेसको सभापतिले सधैं एउटै कुरा बोल्छ, सहमति सहकार्य र एकता । हामी अब सहमति र एकताका साथ एक वर्षमा संविधान बनाउँछौँ । अनि सरकारको आकार सबैलाई समेटेर मिलाउँछु । प्रधानमन्त्रीमा निर्वाचित भएको पहिलो दिन केही घण्टामै कोइरालाको यस्तो प्रतिक्रियापछि पत्रकारहरु विस्तारै तितरवितर भए, निराश मुद्रामा ।

त्यसपछि सुरु भयो कार्यकर्ता, शुभेच्छुक, समर्थकहरुले स्वागत र सम्मान गरे । अनि कडा सुरक्षा बलका साथ नवनिर्वाचित प्रधानमन्त्री हुइँकिदै गर्दा कार्यकर्ताहरुले नेपाली कांग्रेस जिन्दावाद, सुशील कोइराला जिन्दावाद भन्दै नारा लगाउँदै कोइरालाको संविधानसभा भवन परिसरबाट विदाइ गरे ।

चासोको विषय भने नवनिर्वाचित प्रधानमन्त्रीको प्रतिक्रियाप्रति थियो । मुलुकको कार्यकारी पदमा निर्वाचित भएको पहिलो दिनमै पत्रकारहरुलाई प्रतिक्रिया दिन इच्छा नगर्ने कोइराला आगामी दिनमा कसरी अघि बढ्लान् ? यो चासोको विषय बनेको छ ।

No comments:

Post a Comment