झलक सुवेदी
एमालेसँगको सत्ता समीकरणबारे भएको प्रारम्भिक सहमतिबाट कांग्रेस साँच्चै पछि हटेको खण्डमा बाहेक यसै साता कमरेड वामदेव गौतम तेस्रोपटक मुलुकको उप–प्रधानमन्त्री बन्नेछन् । फुटबलमा एउटै खेलाडीले गर्ने तेस्रो पटकको गोल या यस्तै कर्मलाई ह्याट्रिक गरेको भन्ने प्रचलित बुझाइलाई यता वामदेवमा लागू गर्यो भने उनले उप–प्रधानमन्त्री हुनमा ह्याट्रिक गरेको मानिनेछ ।
कम्युनिस्ट पार्टीमा पार्टी प्रमुख नबनेको (एमालेसँगै घुर्की लगाउन माले बनाएका वेला पनि उनी फस्टपर्सन भएका थिएनन्) कुनै नेताले प्रधानमन्त्री बन्ने अवसर पाउनु दुर्लभ कुरा हो । पार्टीमा दोस्रो तहमा रहेकाले सरकारमा दोस्रो तहको जिम्मेवारी पाउनुलाई स्वाभाविक मान्ने हो भने वामदेवले आफ्नो हैसियतको पूर्ण उपभोग गरेको मान्नुपर्ने हुन्छ । हालै मात्र पार्टीभित्रको समीकरणमा नयाँ प्रयोग गरेका कमरेड वामदेवले भविष्यमा प्रधानमन्त्री या पार्टी अध्यक्ष बन्ने बाटो खुला गर्न कमरेड ओलीसँग मोर्चा बनाएको बुझ्न धेरै गारो छैन ।
आफ्ना लामा पाइला जस्तै लामै फड्को मार्न र तीव्र गतिमा हिँड्न रुचाउने वामदेव गौतमका लागि एमालेमा झलनाथ र माधव नेपालमा आलोपालो सरिरहेको नेतृत्व विस्थापित गरेर आफ्नो तहमा ल्याउनका लागि पनि ओलीसँगको समीकरण आवश्यक थियो । झलनाथ खनाल र माधव नेपाललाई अल्पमतमा पारेर संसदीय दलको नेतामा कमरेड केपी ओलीलाई निर्वाचित गरिसकेपछि वामदेवले अहिलेको गठबन्धनमा पार्टीका तर्फबाट नेतृत्व गर्दै उप–प्रधानमन्त्रीको पद पाउनु स्वाभाविक थियो ।
तर, यसपटक पनि कांग्रेसले एमालेलाई थाङ्नामा सुताउने प्रयास गरेकाले हिजोका मितिसम्म वामदेवको ह्याट्रिकका लागि हानिएको बल खुट्टाबाट जोडले अगाडि बढेको तर पोस्टमा नपुगिसकेको अवस्थामा शून्यमा अड्किरहेको छ । वामदेव र उप–प्रधानमन्त्रीका बीचका यी सम्बन्धलाई अलिकति पृष्ठभूमिमा गएर नियाल्नु रोचक नै हुनेछ ।
वामदेव गौतमलाई मैले ०३६ सालको साउन भदौतिर पोखरामा पहिलोपटक भेटेको हुँ । उनी भर्खर दमौली जेलबाट रिहा भएपछि नेकपा मालेको पश्चिमोत्तर क्षेत्रीय कमिटीको नेताका रूपमा पोखरालाई केन्द्र बनाएर काम गर्न थालेका थिए । त्यही साउनमा गण्डकी धवलागिरी क्रान्तिकारी कम्युनिस्ट दल माले नेकपा मालेमा बिलय भएपछि मालेको संगठन ह्वात्तै विस्तार भएको थियो । म बगरको टुँडिखेलनेर कसाई टोलमा बस्थेँ । मेरा रुममेट बृहस्पति अधिकारी पार्टीमा निकै सक्रिय थिए ।
हाम्रो कोठा छिटै भरपर्दो सेल्टरमा फेरिएको थियो । वामदेव त्यहीँ आउने, खाना खाने र कहिलेकाहीँ त्यहीँ बस्ने पनि गर्थे । मेरो उपन्यास आधा जून मा मैले उनको अलिकति चरित्र चित्रण पनि गरेको छु । कमरेड विमलका उपनामले चिनिने उनी भूमिगत नेता भए पनि जनमत संग्रहको खुकुलोपनको फाइदा उठाएर दिउँसै सहरमा डुलफिर गर्थे । भर्खरको अल्लारे उमेरको १६ वर्षे ठिटो मेरो मनमा सुरुसुरुमा यी कमरेडलाई देख्दा पार्टीको भविष्य र क्रान्तिप्रति अलि बढी नै विश्वास लाग्थ्यो । उनको जिउडाल पनि लालसेनाको कमान्डर बन्ने खालको, बोलीमा पनि एकप्रकारको दृढता र खरोपना भेटिन्थ्यो । उनी जेलबाट रिहा भएर आएकोसम्म त थाहा थियो तर उनको व्यक्तिगत जीवनबारे त्यति धेरै थाहा थिएन । पछिपछि अरूहरूले भन्न थाले र थाहा पनि हुँदै गयो ।
भूमिगत कालमा यी कमरेडको सक्रियता निकै प्रभावकारी पनि थियो । मलाई सम्झना छ, ०४० सालको हिँउदका वेला थियो । अखिलको सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको बैठक पोखरामा आयोजना गरिएको थियो । गौरी प्रधान त्यसका संयोजक थिए । म जिल्ला कमिटीको सदस्य थिएँ र पृथ्वीनारायण क्याम्पस प्रारम्भिक कमिटीको अध्यक्ष पनि । बैठक लामाचौरमा गण्डकी बोर्डिङ स्कुलभन्दा अलि पश्चिमपट्टिका किसानको घरमा आयोजना गरियो । वामदेव पार्टीका तर्फबाट खटिएका थिए । सिपी मैनाली महासचिवबाट हटाइएपछि पार्टीमा उत्पन्न गड्बडी (पार्टीको बहुमतभित्र त्यसलाई जिडिबिडी र अल्पमतवालालाई गड्बडिया भनिन्थ्यो) पछि टंक कार्कीहरूको समूहलाई हटाएर नयाँ नेताहरू तयार पार्दै आयोजक समिति बनेको थियो ।
वामदेव सिपीका कडा आलोचक थिए । सेल्टर बनाउने क्रममा एउटा चर्पी पनि बनाउनुपर्ने भयो । उनी आफैँले कोदाली लिएर खाल्टो खने, बारबेर पारे र चर्पी पनि बनाए । हामी पनि केही न केही काम त गरिरहेका थियौँ तर उनको सक्रियता हाम्रो भन्दा निकै बढी थियो । उनको सक्रियता देखेपछि कसैले पनि अल्छी मान्ने या सानातिना काम भनेर पन्छिने हिम्मत गर्दैनथ्यो । तेस्रो दिन नै सेल्टरको गोपनीयता खुल्यो भन्ने सूचना आयो र हामीले बैठकको भेन्यु सारेर पृथ्वीनारायण कलेजको भर्खर बनेको विज्ञान प्रयोगशालाको भवनमा लग्यौँ ।
उनी सेल्टरमा आउँदा आफँै खाना बनाउन, भाँडा माझ्न पनि अगाडि सर्थे । एकदिन बिहान म कलेजबाट पढेर कोठामा फर्केको थिएँ । कोठामा वामदेव गौतम रूपाकोटका राजेन्द्र सुवेदीसँग केही लामो कुरा गरिरहेका रहेछन् (जो पछि पञ्चायतको समर्थक बने र बहुदल आएपछि एमालेमा नै फर्के) । मैले बेलुकाको बासी भात त्यो पनि दुई गाँस मात्रै हुँदो हो, भुटेँ र देक्चीमा हामी सबैका लागि अलग्गै भात बसालेँ । मलाई त्यो बासी भात उनीहरूलाई पनि दिऊँ कि आफँै मात्रै खाऊँ भन्ने एकछिन दोमन भयो । तर, भोकले पनि सताएको र निकै थोरै त्यो पनि बासी भात भएकाले सोध्न अलि अप्ठेरो पनि लागेर आफैँले मात्रै खाइदिएँ । वामदेवले हेरिरहेका रहेछन् भनिहाले, ‘हामी पनि खान्थेम नि किन एक्लै खानुभएको हँ ? यस्ता पनि कम्युनिस्ट हुन्छन् ?’ मलाई खाएको भात निल्नु न ओकल्नु भएको थियो ।
उनीसँग भूमिगतकालको सम्झनायोग्य अन्तिम भेट पिस्करकाण्डको लगत्तै भएको थियो । पार्टीपक्षीय विद्यार्थीको भेला आयोजना गरिएको थियो । सम्भवत: यो भेला केआइसिंह पुलनजिक हरिया झ्याल ढोका भएका पुराना घरमा डेरा गरिबस्ने विज्ञान पढ्ने विद्यार्थी साथीहरू डोलराज पाण्डे र नयाँ शर्माको कोठामा भएको थियो । वामदेवले भेलामा निकै जोडदार रूपमा सशस्त्र संघर्षको आवश्यकतामा जोड दिएका थिए र तत्काल बन्दुक किन्न भनी हामीलाई चन्दा उठाउन अह्राएका थिए । तर, त्यतिवेला उठाएको पैसा कता पुग्यो, सशस्त्र संघर्षको नारा कता बिलायो भन्ने चाहिँ कहिल्यै पनि थाहा पाइएन । उनी सरुवा भएर पश्चिमतिर गए । यसअघि डिबी सिंह प्रकरण र कमरेड विकास प्रकरणमा उनको उग्र स्वरूप पनि देखिएको थियो । समयले उनलाई पछि एमालेको मात्र होइन, गठबन्धन राजनीतिको केन्द्रमा पनि राखिदियो । उनको शक्ति र जीवनशैलीमा पनि आकाश जमिनको परिवर्तन आयो । परिणामत: उनी यसअघि दुईपटक उप–प्रधानमन्त्री बने गठबन्धन सरकारमै । अहिले बन्न खोज्दै छन् अर्को गठबन्धन सरकारमै ।
०४७ पछि उनको भूमिका बिस्तारै केन्द्रीय राजनीतिमा थपिँदै गयो । ०४९ को महाधिवेशनले उनलाई स्थायी समितिमा निर्वाचित गरेपछि उनको भूमिका अझ विस्तार भयो । उनलाई सर्वसाधारण जनता र काठमाडांैको बौद्धिक तप्काले ध्यान दिन थालेको भने दासढुंगा दुर्घटनापछि उक्त दुर्घटनाको सत्यतथ्य पत्ता लगाउनभन्दा पनि त्यसलाई हत्या सावित गर्न तत्कालीन नेकपा एमालेले गरेको आन्दोलनका वेला हो । उनको स्वरमा रहेको दृढता, हाउभाउमा रहेको कमान्डिङ शैली र विपक्षीलाई आक्रमण गर्ने आक्रामक भाषणले यस्तो आकर्षणको काम गर्यो । एक समय कवि विमल निभाको व्यंग्य स्तम्भमा पनि उनको सकारात्मक चर्चा पढ्न पाइन्थ्यो । ०५१ सालमा एमालेको अल्पकालीन सरकारको निर्माणसँगै उनको भूमिकाले नयाँ उचाइ लियो ।
उनलाई पार्टीको सर्वेसर्वा हुने गरी विधानमै नभएको उपमहासचिव बनाइयो । उनले दुईपटकसम्म बर्दियाबाट निर्वाचन जितेका थिए । उपमहासचिवका रूपमा सरकारका अनेक कार्यक्रम लागू गराउन पार्टीका तर्फबाट उनले महत्त्वपूर्ण भूमिका पनि खेलेका थिए । बबई सिँचाइ आयोजनाको सक्रिय कार्यान्वयन त्यसको एउटा उदाहरण हो, जसलाई उनैका बलमा राष्ट्रिय अभियानका रूपमा योजनामा समावेश गराइएको थियो ।
तर, ०५२ भदौ १२ को सर्वोच्च अदालतको फैसलाले उनको र एमालेको राजनीतिक जीवनमा धेरै परिवर्तन ल्याइदियो । दक्षिणपन्थ र उदारवादी संसदीय राजनीतितर्फको झुकावसहित एमालेमा आएको परिवर्तनका लागि यही बिन्दु निर्णायक थियो, जतिवेला एमालेका नेता प्रधानमन्त्री मनमोहन अधिकारी, केपी ओली र वामदेव गौतम तीनैजना बाँकेको एउटा जंगलमा १० हजार फिट माथिबाट खसेको हेलिकोप्टर दुर्घटनाबाट बाँचेर उपचार गराइरहेका थिए । त्यसको तीन सातामा संसदमा अविश्वास प्रस्ताव ल्याएर मनमोहनको सरकार ढालियो । तर, यो अविश्वास प्रस्तावको सफलतासँगै एमालेको माक्र्सवाद र समाजवाद अथवा न्यूनतममा वामपन्थी विचारप्रतिको विश्वासमा पनि धमिरा लाग्यो । कांग्रेससँग बदला लिने, या संसदीय गणितमा खेल्ने चालमा लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाएर एमालेले अर्कोपटक सरकार बनायो र त्यसमा उपप्रधानमन्त्री बने वामदेव गौतम । उनैको गृहमन्त्रीत्वमा एमालेले ०५४ को स्थानीय निकायको निर्वाचनमा ७० प्रतिशतजति सिट जित्न सक्यो । उनको काम गराइ एउटा हुरीजस्तो थियो ।
खरेल प्रकरण र स्थानीय निकायको निर्वाचनले उनलाई हाउगुजीका रूपमा पार्टीभित्र र बाहिर पनि हेर्न थालियो । यो शक्ति आरोहणले उनमा जन्माएको महत्त्वाकांक्षा र माधव नेपाल तथा केपी ओलीमा वामदेवको शक्तिले जन्मेको भयका कारण ०५४ मा पार्टी विभाजन भयो । कहिले–कहिले विभाजनले पनि शक्ति आर्जन हुन्छ भन्ने मनोगत विश्लेषण गर्दै वामदेव नेकपा माले निर्माणमा लागे । तर, त्यो देशको अर्थ राजनीतिक विश्लेषण गर्न चुकेको थियो, माओवादी विद्रोहको प्रभाव र एमालेका प्रति त्यतिवेला पलाएको आशा दुवैले माले निर्माण फलामको चिउरा सावित भयो । सदैव गतिशील रहने र महत्त्वाकांक्षी वामदेवले जुन आवेगका साथ पार्टी विभाजन गराएका थिए, त्यही आवेग लिएर एकता पनि गरे ।
उनको यो आवेग पछि रोल्पा पुगेर माओवादी नेताहरू प्रचण्ड र महरालगायतसँग वार्ता गर्दा पनि देखिएको थियो । वास्तविकता भने अलि अप्ठेरो छ । एमालेमा उनलाई दोस्रो दर्जाको पार्टी सदस्य मान्नेहरूको बहुमत छ । नेता मान्न त निकै कम तयार छन् । उनलाई ०५७ सालमा देशको एकनम्बरी भ्रष्टाचारी भन्दै टुँडिखेलबाट घोषणा गर्ने र पार्टी सदस्यमध्येबाटै अदालतमा मुद्दा हाल्ने काम भएको थियो, जुन मुद्दा पार्टी एकीकरणको एक वर्षसम्म चल्दै थियो । रोल्पाबाट उनले प्रचण्डसँग गरेको समझदारीलाई पनि त्यसरी नै उनीमाथि प्रहार गर्ने हतियार बनाइयो र उनलाई पक्राउ गराउन सकिन्छ कि भन्नेसम्मका खेल पार्टीभित्रै भए ।
तर, त्यसको एक महिना नबित्दै दिल्लीमा १२बुँदे समझदारी भयो, जुन रोल्पा समझदारीकै विकसित रूप थियो । यही उतारचढावबीच ०६४ को निर्वाचन हारे पनि उनलाई प्रचण्ड सरकारमा उप–प्रधानमन्त्री र गृहमन्त्री हुने अवसर मिल्यो । चन्दसँगको गठबन्धन होस् या प्रचण्ड या सुशीलसँगको गठबन्धन, यस्तो गणितीय खेल खेल्नमा उनी माहिर छन् । यसका लागि नैतिक, अनैतिक अनेक दाउपेच गर्न उनी कत्ति अप्ठेरो मान्दैनन् । ०५१ को मध्यावधिपछिका पाँच वर्षमा जेजति अविश्वासका प्रस्ताव आए र चलखेल भए ती सबैमा वामदेव कतै न कतै समावेश थिए । सुरा–सुन्दरी काण्डदेखि टिवडेवाला काण्डसम्म र विराटनगरको गिरी थरका कांग्रेसीलाई दुई करोड दिएका घटनासम्म वामदेवको नाम जोडेर एमाले र कांग्रेस वृत्तमा चर्चा हुन्छ (उनी उप–प्रधानमन्त्रीबाट हटेर माले महासचिव बनेका वेला उनको भान्सामा खानेकुराको अभाव भएर लामो समय निकै तनाव व्यहोर्नुपरेकाले उनीप्रति सहानुभूति राख्ने र आर्थिक भरथेग गर्ने पनि त्यही एमालेमा प्रशस्त छन्) ।
उनी राजनीतिमा पनि कुनै विचार या समूहलाई मुढो समाएजस्तो समाएर बस्दैनन् । ०४९ मा सिपी र झलनाथको चर्को आलोचना गरेर खाल्डोको कुरा गर्ने उनले ०५४ मा सिपीसँगै मिलेर पार्टी विभाजित गरे । ०५४ मा केपी ओलीसँगको द्वन्द्वमा पार्टी फोरेका उनले ०५९ को जनकपुर महाधिवेशनमा ओलीको प्रस्तावलाई साथ दिए । ०६५ मा झलनाथ खनाललाई नेता मानेर आफू पार्टीको उपाध्यक्ष मात्र भएनन्, ओली र माधव नेपालको एकैपटक शक्ति घटाइदिए । अहिले ओलीसँगै मिलेर झलनाथलाई संसदीय दलमा पछारे । प्रचण्डसँग पनि यिनको यस्तै सम्बन्ध छ । खासगरी कटवाल काण्डमा उनले प्रचण्डलाई साथ दिन चाहेका थिए तर त्यसको एक वर्षपछि यिनी एमाओवादीका चर्को आलोचक भएर निस्के ।
अहिले कांग्रेसले बेइमानी गरेकाले उसलाई पनि चैनले बस्न नदिने अभिव्यक्ति दिइसकेका उनले यति सम्झे हुन्थ्यो, एकपटक सडक आन्दोलनका कमान्डर यिनी थिए र गिरिजा प्रधानमन्त्री । गिरिजाको राजीनामा मागेर भएको आन्दोलन अन्त गर्न कृष्णप्रसाद भट्टराईले एउटा अस्त्र फालेछन् । ल गिरिजाबाबुको राजीनामा मेरो खल्तीमा छ, तपाईहरू आन्दोलन बन्द गर्नोस् । माधव नेपालसमेत वामदेवले विश्वास गरेछन् र आन्दोलन अन्त गर्ने निर्णय गरे ।
तर, गिरिजाको राजीनामा कहिल्यै आएन । पछि उनलाई सोद्धा भन्ने गर्थे, राजीनामाको कागज देखाउन भट्टराईले खल्तीमा हात हालेपछि म ट्वाइलेट गएँ । कागज भने देख्न पाइन । वास्तवमा त्यस्तो कागज भट्टराईको खल्तीमा थिएन । अहिले पनि सहमति त भयो भनियो तर कुनै तथ्य र रेकर्ड नभएको सहमतिको के अर्थ हुन्छ र ? धोका दियो भन्न मिल्छ र कमरेड ?
साभार : नयाँ पत्रिका दैनिकवाट । थप हेर्न यहाँ क्लिक गर्नुहोला ।
No comments:
Post a Comment