भ्यालेन्टाइन डेका लागि विश्वराज अधिकारीको दिमागमा केही योजना बनेका छन् । कहाँ जाने ? कसरी रमाउने ? आदि प्रश्नले उनी रोमाञ्चित भएका छन् । सन् २०१३ का ‘गे ह्याण्डसम’ विश्वराज अहिले स्नातक तहमा अध्ययनरत छन् ।
यौनिक अल्पसंख्यकलाई नेपाली समाजले अझै सहजरुपमा स्वीकार्न नसकेको हुँदा उनले यौवनकालका केही वर्ष जोडी पाउन सकेनन् । ‘गत वर्ष मन मिल्ने साथी भेटें’ उनले खुसी हुँदै सुनाए, ‘यो वर्षको भ्यालेन्टाइन बबाल रमाइलो गरी मनाइन्छ ।’
तर, उनकी भ्यालेन्टाइन पार्टनरले भने आफ्नो नाम सार्वजनिक नहोस् भन्ने चाहिन् । ‘हामी गत वर्षदेखि सँगै छौं’ उनले यसो भनिरहँदा अर्की यौनिक अल्पसंख्यक पिंकीले थपिन् ‘उहाँहरु छिट्टै बिहे गर्दै हुनुहुन्छ ।’ विश्वराजले सही थपे र भने ‘हो हामी अहिले लिभिङ टुगेदरमा छौं । यसलाई औपचारिक मान्यता दिने सपना बुनिरहेका छौं ।’
भ्यालेन्टाइन डे नेपाली मौलिक पर्व नभएको र सार्वजनिक विदा पनि नहुने भएकाले विश्वराजले दुःखमनाऊ गरे । ‘अफिस सकिएपछि रेष्टुरेन्ट जानुपर्ला’ उनले भने ‘छुट्टीको दिन पार्क र फिल्म हेर्न पनि जानेछौं ।’ उनी अहिले यौनिक अल्पसंख्यकहरुको संस्था ब्लु डाइमण्ड सोसाइटीमा कार्यरत छन् । उनकी पार्टनर पनि एउटा संस्थामा जागिरे छन् ।
सम्झना (उनकै आग्रहमा नाम परिवर्तन) र सुदीप (नाम परिवर्तन) ले जोडी बाँधेको दुई वर्ष भयो । दुवैजना हेटौंडाबाट आएर काठमाण्डौमा बसिरहेका छन् । ‘हामी पनि मज्जाले मनाउने हो भ्यालेन्टाइन डे’ सम्झनाले भनिन् । सुदीपले पनि प्रेमिकालाई दिने उपहार पनि सोचिसकेका छन् रे । ‘अहिले नै भन्दा पनि दिने बेलामा मजा आउँदैन क्या’ सुदीपको कुरा सुनेर सम्झना मुस्कुराइन् ।
त्यस्तै कैलालीका भक्ति शाहले सात वर्षदेखि नै एकजना पार्टनर फेला पारेका छन् । तर, उनको जोडीले यो वर्ष सँगै भ्यालेन्टाइन मनाउन नपाउने भएको छ । ‘त्यही दिन बैंकक जानुछ’ ब्लु डाइमण्ड सोसाइटीका कर्मचारी उनले भने ‘परिवन्द नै यस्तै पर्यो ।’ तर आफूहरुको पिरती सँधै लैला-मजनू भएको दाबी गर्ने उनले भने ‘यसलाई एक दिनको भ्यालेन्टाइनमा सीमित पार्नु हुँदैन भन्ने मेरो मान्यता छ ।’
सहकर्मी यौनिक अल्पसंख्यकमाझ ‘ममी’ र ‘दिदी’ पहिचान बनाएकी पिंकी भने आफूलाई भ्यालेन्टाइनले अर्थ नराख्ने टिप्पणी गर्छिन् । ‘मेरो कोही भ्यालेन्टाइन छैनन्’ उनले भनिन् ‘भए पो मनाउने कुरा सुनाउनू ।’
त्यसो त माया भन्ने चिजलाई एक दिनको भ्यालेन्टाइनमा सीमित पार्न नहुने उनको विश्लेषण छ । ‘मायासँग भावना गाँसिएको हुन्छ’ उनले भनिन् ‘एक दिनमा सीमित पार्दा मायाको महत्व कम हुन्छ र समाजमा गलत म्यासेज जान्छ ।’ उनी भ्यालेन्टाइन डेमा गर्लफ्रेण्ड र ब्वाइफ्रेण्ड बनाउने, रमाइलो गर्ने क्रमले फेसनको रुप धारण गरिरहेको भन्द्यै चिन्ता व्यक्त गर्छिन् ।
प्रतिवन्धित लैला-मजनू
नेपाली समाजमा अझै स्वीकारिएको छैन यौनिक अल्पसंख्यकलाई । कूल जनसंख्यामा ८ देखि १० प्रतिशत यौनिक अल्पसंख्यक रहेको दाबी गर्ने पिंकी भन्छिन् ‘हामीलाई अझै समाजले मान्यता दिएको छैन, विभिन्न हेय शब्दले बोलाइन्छ ।’ नेपालमा अहिले चलनचल्तीमा तेस्रो लिंगी भन्ने गरिन्छ ।
पहिचानबारे अधिकारीको भोगाइ पनि तीतो छ । उनी आफूहरु यही समाजको सदस्य भए पनि परिवारबाट समेत वहिष्कृत हुने गरेको बताउँछन् । ‘लुकिछिपी माया लाउनुपर्ने बाध्यता छ हाम्रो’ उनले भने ‘परिवार र समाज दुबैतिरबाट हेपिएपछि कम्ता चोट परेको छैन ।’
ब्लु डाइमण्ड सोसाइटीले अहिलेसम्म आफूहरुको सम्पर्कमा ५ लाख जनाले आवद्धता जनाइसकेको उल्लेख गरेको छ । तर, सामाजिक असुरक्षाले गर्दा धेरैजनाले पहिचान खोल्न नसकेको पिंकी बताउँछिन् ।
नेपाली सेनामा भेदभाव भएको गुनासो
भक्ति शाह आफूहरुलाई राज्यले समेत हेला गरेको गुनासो गर्छन् । उनी राज्यकै हेयभावले सरकारी रोजगारी गुमाउन बाध्य भएको बताउँछन् । उनी नेपाली सेनामा भर्ती भएका थिए, तर आफूलाई समलिंगी भएकोमा जागिरबाट निकालिएको बताउँछन् उनी ।
‘सेनामै छँदा केटासँग निकटता गाँसेको अभियोगमा थुने’ उनले भने, ‘बाध्य भएर सेना जागिर छाडेँ ।’ उनी अहिले यौनिक अल्पसंख्यकहरुको अधिकार क्षेत्रमा कार्यरत छन् ।
‘फिलिङमात्र फरक हो’
यौनिक अल्पसंख्यकभित्र पाँच वर्ग छन् । विभिन्न लैंगिक विशेषताको आधारमा महिला, पुरुष र दुवै गुण भएको गरी पाँच वर्गमा यौनिक अल्पसंख्यक छन् । ‘हाम्रो शारीरिक आकृति खासै फरक हुँदैन’ भक्ति भन्छन् ‘हाम्रो फिलिङ मात्रै फरक हुन्छ ।’
पिंकीका अनुसार यौनिक अल्पसंख्यकहरुको आचरणमा हर्मोनमात्र जिम्मेवार छैन । प्राकृतिकरुपमा पनि कतिपय मानिसमा यौनिक विशेषता फरक पर्ने गरेको छ । ‘यो आदिकालदेखि नै चलिआएको रीति हो’ विश्वराज भन्छन् ‘तर आधुनिक शिक्षित समाजले अहिलेसम्म स्वीकारेको छैन ।’
परिवारबाटै प्रेममा वञ्चित
सुदीप हेटौंडाका बासिन्दा हुन् । उनी अहिले आफूलाई महिला समलिंगी भन्न रुचाउँछन् । उनले आफ्नो लैंगिक पहिचानका बारेमा बताएपछि परिवारले नै हेला गरे । समाजले त गर्ने नै भयो । चौतर्फी हेला भएपछि उनी काठमाण्डौ आइपुगे । ‘अहिले पनि परिवारमा राम्रो सम्बन्ध छैन’ उनले भने ‘एउटी दिदी हुनुहुन्छ अपाङ, उहाँले मात्र फोन गर्नुहुन्छ ।’
उनकी प्रेमिका सम्झनाले त घरमा अहिलेसम्म थाहा नदिएको बताइन् । घरमा जानकारी नदिएकाले आफूलाई परिवारको ‘सपोर्ट’ रहेको उनको भनाइ छ । हेटौंडाबाट १२ पास गरेकी उनी अहिले काठमाण्डौमा कार्यरत छिन् ।
साभार : अनलाइनखबरबाट
No comments:
Post a Comment