Tuesday, January 21, 2014

सपथ ग्रहणपछि नेताहरूले भने- स्वामित्वग्रहण गर्दै संविधान बनाउँछौं !

पद तथा गोपनीयताको सपथ ग्रहणपछि प्रमुख दलका नेताहरुले विगतमा मिलिसकेका विषयलाई पुनः विवादमा नल्याउने बताएका छन् । विगतका सहमतिमा टेकेर एक वर्षभित्रै जनतालाई संविधान दिने दृढतासमेत नेताहरुले व्यक्त गरेका छन् ।


जेष्ठ सभासद सूर्यबहादुर थापाबाट सपथ ग्रहण गरेपछि नयाँ बानेश्वरस्थित संविधानसभा परिसरमा  नेताहरुले जनतालाई चुनावताका दिएको वचन पूरा गर्ने आश्वासन दिएका हुन् ।

नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले सहमतीय सरकार गठन गरी सहमतिमै एक वर्षभित्रमा संविधान जारी गर्ने वताए । उनले अब सरकार गठनको पहल थालिने र सरकारमा सवै दललाई सहभागी गराउन आफू र आफ्नो पार्टी लागि परेको वताए ।

यस्तै काँग्रेसकै बरिष्ठ नेता एवं सभासद शेरवहादुर देउवाले आफू र आफ्नो पार्टीको पहिलो प्राथमिकता संविधान निर्माण नै भएको बताए । उनले एक वर्षभित्रै संविधान बनाउने दाबी गरे ।

एक वर्षमै संविधान बनाउने आधार के रु भन्ने पत्रकारको प्रश्नमा देउवाले अघिल्लो संविधानसभामा आधाभन्दा बढी विषयमा सहमति जुटिसकेकाले विवादित विषयमा सहमति खोजिने र सहमति नजुटे बहुमतीय प्रक्रियाबाटै टुंगो लगाउने बताए ।

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले अघिल्लो संविधानसभामै धेरै कुरामा सहमति भइसकेकाले अबको एक वर्षभित्रैमा संविधान जारी हुने दावी गरे । उनले भने,’अघिल्लो संविधानसभामा धेरै विषयमा सहमति भइसकेको छ । अब विवादीत विषय कम छन् ती विषय टुंग्याएर संविधान जारी गर्छौ ।’

नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवम् सभासद सुरेन्द्र पाण्डेले अघिल्लो संविधानसभामा सहमति भइसकेका विषयमा विवाद निकाल्न नहुने बताए । उनले आफ्नो पार्टीले चुनावमा जनाएको प्रतिवद्धता अनुसार संविधान निर्माणको काममा सम्पूर्ण ध्यान केन्द्रीत गर्ने बताए । पाण्डेले अघिल्लो संविधानसभामा सहमति जुटिसकेका विषयलाई स्वामित्व ग्रहण गर्दै सहमति जुट्न नसकेका विषयमा छलफल केन्द्रीत गर्नुपर्नेमा जोड दिए । पाण्डेले साना साना कुरामा अब पनि विवाद निकाल्न नहुने वताए ।

उनले संघीयता, राज्यपूर्नसंरचना लगायतक केही विषयमामात्रै सहमति जुट्न बाँकी रहेकाले ती विषयलाई सहमति भए सहमतिमा नभए बहुमतीय प्रक्रियावाट टुंगो लगाएर एक वर्षभित्रै संविधान जारी गरिने बताए ।

यस्तै मधेशी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्ष एवम् सभासद विजयकुमार गच्छदारले निर्वाचन जानुअघि जनाएको प्रतिवद्धताअनुरुप एक वर्षभित्रै संविधान दिने बताए । उनले अघिल्लो संविधानसभामा भन्दा संख्यात्मक हिसावले मधेशी दलका सभासद थोरै भए पनि अझ प्रभावकारी रुपमा संविधान निर्माणमा लागिपर्ने बताए ।

गच्छदारले भने(संख्यात्मक हिसावले मधेशी दलको प्रतिनिधित्व कम भएपनि मधेशीका अधिकार प्राप्तिका लागि प्रभावकारी रुपमा संविधानसभामा आउँछौ । हामी थप सशक्त भएका आउँछौं, कमजोर भएर होइन ।’ गच्छदारले मधेशवादी चुनावमा खुम्चिए पनि मधेश क्षेत्र नै नखुम्चिएको बताए । उनले अघिल्लो संविधानसभामा भएका सहमतिलाई ग्रहण गरेर अघि बढे एक वर्षभित्रै संविधान दिन सकिने बताए ।

No comments:

Post a Comment