Wednesday, August 13, 2014

सुशील दा'का पूर्वपिएले लक्ष्मण ढकाल भन्छन्-रहस्य खोले कांग्रेसमा ठूलै भूकम्प जान्छ

नेपाली काङ्गे्रसका युवा नेता एवम् लामो समयदेखि सुशील कोइरालाको सहयोगी रहँदै आएका लक्ष्मण ढकालले आफू अझै धैर्य गर्ने बताउँदै सबै रहस्य खोल्नुपर्यो भने ठूलै भूकम्प जाने बताएका छन् ।
 घटना र विचारसँग कुरा गर्दै ढकालले भने, ‘म अहिले राजनीतिक कुरा मात्र गर्दै छु । सुशील कोइरालाजी आफ्ना अनुचरहरूमार्फत मेरो बदनाम गराउने प्रयास गर्दै छन्, यस्तै गरिरहे भने मैले मेरो मुख खोल्नैपर्ने हुन्छ ।’ तपाईंमाथि सूचना बेचेको भन्ने आरोप लागेको छ नि, होइन’ भन्ने हाम्रो जिज्ञाशाको जवाफमा ढकालको भनाइ छ, ‘पहिलो कुरा त मैले कहिल्यै कुनै प्रकारको गलत धन्दा गरेको छैन, गर्ने मान्छे म होइन । दोस्रो कुरा सुशील कोइरालासँग के सूचना हुन्छ र कसैले बिक्री गर्नु १ बरु सुशील कोइरालाको सूचनाको सबभन्दा ठूलो स्रोत मैं थिएँ ।’ 
‘अब आइन्दा कोइरालाहरूले कसैलाई पनि उपयोग गर्ने र फाल्ने अवस्था नबनोस् भन्ने मेरो चाहना छ,’ प्रधानमन्त्री सुशील कोइरालाको गत सातासम्म सहयोगी रहेका लक्ष्मण ढकालले घटना र विचारसँग भने, ‘विगतमा काङ्गे्रसका कतिपय नेतालाई कोइरालाहरूकै निर्देशनमा गोप्य रूपमा किर्ते कागज तयार गरी जेल हालिएको र भ्रष्टाचारको मुद्दा लगाएर राजनीतिक जीवन समाप्त गर्ने काम गरेको मलाई थाहा छ । आवश्यक परेका बेला सप्रमाण सबै कुराहरू सार्वजनिक गर्नसक्छु ।’

० दशकभन्दा बढी समयदेखि सुशील कोइरालाको निकट रहेर उहाँलाई सहयोग गर्दै आउनुभएका तपाईं अचानक बालुवाटारबाट खेदिनुभयो, किन होला लक्ष्मणजी ?

– हा‘हा‘हा‘ म अचानक खेदिएको होइन । सुशील कोइराला पावरमा नहुँदा उहाँको अपमान र उपेक्षा गर्नेहरू उहाँ पावर पुगेपछि वरिपरि घेरा लाग्न पुगेका छन् । म छइन्जेल सुशील कोइरालाको नाममा ठगी खान खोज्नेहरूले मौका नपाएपछि ती मानिस मेराविरुद्ध थिए । तिनले मलाई सुशील कोइरालाबाट टाढा लैजान निकै प्रयास गर्दै आएका थिए । पार्टीको विभाग गठनकै बेलादेखि मेरो र सुशील कोइरालाजीको बीचमा मनमुटाव पैदा भएको थियो । पोखरामा एउटा कार्यक्रममा त मैले सुशीलज्यूलाई छोडेरै हिँडेको पनि हुँ । तर पछि उहाँले गल्ती भएको र सच्याएर अघि बढ्ने बताएपछि म फर्किएको थिएँ ।

सुशील दादाको नाममा खान चाहनेहरू मेराविरुद्ध लागिरहेका थिए, अहिले सफल भएका हुन् । शेखर कोइराला, शशांक कोइराला र सुजाता कोइरालाहरू सबै मेराविरुद्ध थिए । मलाई हटाइएको भन्ने चर्चा सुनेपछि भोलिपल्ट बिहान म बालुवाटार गएँ र प्रधानमन्त्रीजीलाई सोधेँ– ‘के हो यो हल्ला’ भनेर । उहाँले ‘मलाई थाहा छैन’ भन्नुभयो । मैले ‘थाहा छैन भनेर सुख पाइन्न, अवकाश दिइएको पत्र चाहिन्छ’ भनेँ, आफैँले पत्र तयार गर्न लगाई सुशील कोइरालाको सही गराएँ र बालुवाटारबाट निस्किएँ ।’

० को–को लागेका थिए तपाईंलाई पन्छाउन ?
– हत्तेरी, को लागेका थिए भनेर भन्नैपर्दैन नि, हिजोका बदनाम पात्रजति यतिबेला सबै सुशीलजीकै वरिपरि छन्, त्यसैबाट बुझिन्न र रु भ्रष्ट प्रवृत्तिका मानिस जो सुशील कोइरालाको नाम बेचेर खान चाहन्थे, ती सबै मेराविरुद्ध थिए ।

० सुशील कोइरालाको छवि स्वच्छ मानिन्छ र धेरैले इमानदार मानिसका रूपमा उहाँलाई लिन्छन् । वास्तवमा उहाँ बाहिरबाट देखिएजत्तिकै सफा हुनुहुन्छ कि भित्र अर्कै रूप छ ?

– मैले चिन्दा सुशील कोइराला क्लिन मानिस हुनुहुन्थ्यो र उहाँको स्वच्छतामा दाग लाग्न नदिन मैले प्रयास गर्दै आएको पनि थिएँ । मैले नै उहाँलाई जोगाएर ल्याएको हुँ । सत्तामा पुगेपछि राम्रो गर्नुहोला भन्ने लागेको पनि थियो । तर, अहिले उहाँ अलोकप्रिय बन्नुभएको छ । नातापाता र अमेरिकामा ग्रिनकार्ड लिएर बसेकाहरूलाई मात्र वरिपरि राखिएपछि उहाँको सुनाम हुने कुरा पनि भएन ।

०    क्षमता र योग्यताका दृष्टिले सुशील कोइराला ‘ए’, ‘बी’ या ‘सी’ कुन क्याटगोरीको मानिसमा पर्नुहुन्छ ?

– कुन क्याटगोरीको भन्ने कुरा सबैले थाहा पाइसके, म किन बोलौँ रु उहाँ पूरै परिवारको फन्दामा पर्नुभएको छ । मैले मेरो जवानीको महत्वपूर्ण समय उहाँलाई राम्रो र सफल देखाउनका लागि लगाएँ, मैले नै पार्टी सभापति, संसदीय दलको नेता र प्रधानमन्त्रीसम्म बनाउन पनि सघाएँ । भारतमा नरेन्द्र मोदीजीका खास सहयोगीलाई प्रधानमन्त्री बनिसकेपछि पार्टीको सभापति बनाइयो, नाता नपरेका कारण मलाई भने हटाइयो । यसले कोइरालाहरूको प्रवृत्ति स्पष्ट देखाएको छ । वास्तवमा उनीहरू सबैलाई उपयोग गर्ने र फाल्ने मामिलामा धेरै अगाडि छन् । कोइरालाहरूको यही प्रवृत्तिका कारण उनीहरूको समाप्तिको दिन सुरु भएको भन्ने मलाई लाग्दै छ ।

० युवतीका मामिलामा त सुशील कोइराला गंगाजलजत्तिकै पवित्र हुनुहुन्छ नि, होइन ?
– हा‘हा‘हा‘ यस विषयमा म अहिले कुनै कमेन्ट गर्न चाहन्न । बोली होइन व्यवहार हेरेर लेखिदिनुहोस् ।

ठीकै छ, यो व्यवहारै हेरेर धारणा बनाउँला, नगदको विषयमा त उहाँ शुद्ध हो नि होइन र ?
– सुशील कोइरालालाई नगद लिन नसक्ने मान्छे बनाएको मैले नै हो । म उहाँको छवि धमिलियोस् भन्ने चाहँदैनथेँ । सुशील दादालाई स्वच्छ देखाउन खुव कोसिस गरिएको हो । कस–कसका कति रकम कुन समयमा कसरी लिइए वा लिइएनन् भन्ने कुरा पनि समय आएपछि स्पष्ट भइहाल्नेछ । अहिले मैले धैर्य गर्नु नै ठीक छ । कसैले पनि कोइरालाहरूबाट सिकार हुनु नपरोस् भन्ने मेरो वर्तमानको मूल ध्येय हो, सतर्कतापूर्वक म यसैमा लागेको छु । तर, राजनीति पनि कोइरालाहरूसँग होसियारीकै बाटोतर्फ जाँदै छ है, त्यसैले कसैले नगद लिएको–नलिएको भन्ने तहभन्दा माथिबाट म सोच्दै छु । समय आएपछि सबै भण्डाफोर हुन्छ, प्रतीक्षा गर्नुहोला । मैले बोलेपछि ठूलै भूकम्प आउनेछ ।

पूर्वाञ्चलका लोकप्रिय काङ्गे्रस नेता देवनारायण ढकालका सुपुत्र लक्ष्मण ढकाल विगत सत्र वर्षदेखि सुशील कोइरालाको निकट हुनुहुन्थ्यो र ०५९ देखि उहाँसँगै रहँदै आउनुभएको थियो । ०३६ मा अराष्ट्रिय तत्व भन्दै उहाँको साढे दश बिघा जमिन पञ्चायती सरकारले कब्जा गरेपछि पिता देवनारायण भागेर भारत पुग्नुभयो भने आफ्नी माता र फुपूलाई प्रहरीले पक्राउ गरी यातना दिएको थियो । लक्ष्मण स्वयम्ले पनि प्रजातान्त्रिक आन्दोलनको दर्मियानमा यातना र हिरासतको दण्ड भोग्नुभएको थियो । ०६१ माघ १९ गते विराटनगरस्थित कोइरालानिवासबाट गिरफ्तार भएका ढकाललाई एक सय चौध दिन हिरासतमा राखिएको थियो । आज तिनै ढकाललाई कोइरालाहरूले ‘काँढा’ ठानेका छन् ।

No comments:

Post a Comment