Wednesday, January 15, 2014

रामचन्द्र अघि सर्दा कोइरालालाई उकुशमुकुश, देउवाले भने - मेरो पौडेल नै हो

काठमाण्डौ । प्रधानमन्त्रीका लागि आफूलाई सहयोग गर्न उपसभापति रामचन्द्र पौडेलले बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरवहादुर देउवा र आफूसामू खुलस्तरुपमै कुरा राखेपछि सभापति सुशील कोइराला अप्ठेरोमा परेका छन् । प्रधानमन्त्रीका लागि शीर्ष तीन नेताले आकंक्षा देखाएपनि पौडेलले आफूले यसपटक प्रधानमन्त्री पाउनु पर्ने वताएपछि कोइराला झस्किएका छन् । 


नेतात्रय प्रधानमन्त्रीका आकंक्षी भएपछि यसको प्रभाव पार्टीका नेताहरुमा समेत परेको छ । संविधानसभाको निर्वाचनवाट आफ्नो नेतृत्वमा पहिलो पार्टी बनेकाले आफूलाई सहयोग गर्न सभापति सुशील कोइरालाले बताउँदै आएका छन् भने बरिष्ठ नेता शेरवहादुर देउवाले आफूलाई पार्टी चलाउने जिम्म दिइए प्रधानमन्त्रीको दावी नगर्ने वताउँदै आएका छन् ।
तर उपसभापति पौडेलले पार्टीमा पुर्‍याएको योगदानका आधारमा आफूलाई सहयोग गर्नु पर्ने वताएका छन् । जसका कारण आफ्नै पक्षका भनिएका पौडेलले घुमाउरो भाषामा सभापति कोइरालालाई सहयोग गर्ने वताएपछि कोइराला अप्ठेरोमा परेका हुन्  । 

सभापति कोइरालाले भने अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरवाट आफूलाई समर्थन आएको भन्दै प्रधानमन्त्रीका लागि सहयोग गर्न पौडेल र देउवालाई आग्रह गरिरहेका छन् । तर नेता पौडेल र देउवाले निर्वाचित सभाससदहरुसंग आन्तरिक छलफललाई तिब्रता दिइरहेका छन् । पटक-पटक भइरहेका शीर्ष नेतात्रयको वैठकमा तीनै जना नेताले आफ्नो अडान नछाडेपछि प्रधानमन्त्रीको उम्मेदवार टुंगो लगाउन अझै केही दिन लाग्ने प्राय निश्चित देखिएको छ । नेतात्रयले सार्वजनिक कार्यक्रममै आ-आफूले प्रधानमन्त्री बन्न पाउने बताउँदै आएका छन् । 

देउवा पौडेललाई सघाउने मनस्थितिमा

प्रधानमन्त्रीका लागि उपसभापति पौडेल र बरिष्ठ नेता शेरवहादुर देउवावीच पटक-पटक छलफल भइरहेको छ । पौडेल र देउवावीच भइरहेको  छलफलमा पौडेलले आफूलाई प्रधानमन्त्रीका लागि सहयोग गर्न आग्रह गरिरहेका छन् । पौडेलले आफूलाई प्रधानमन्त्रीका लागि सहयोग गरे महाधिवेशनमा पार्टी सभापतिमा सहयोग गर्ने बचन देउवालाई दिइरहेका छन् । देउवाले पनि वर्तमान अवस्थामा सभापतिले आफूलाई कार्यवहाक सभापतिको जिम्मेवारी दिन नचाहेकाले पौडेलसंग मिल्नु नै उत्तम हुने निष्कर्षमा पुगेको स्रोतको भनाई छ ।

पार्टी सभापति कोइरालालाई प्रधानमन्त्रीका लागि सहयोग गर्दा पनि आफूले कार्यवहाकको जिम्मेवारीवाट बञ्चित हुनु पर्ने भएकाले पनि देउवा कोइरालाको प्रस्तावप्रति मौन रहेको देउवा निकट एक नेताले वताए । यसकै कारणपनि देउवा र पौडेल प्रधानमन्त्री र पार्टी नेतृत्वको एजेन्डामा सहमति नजिक पुगेको स्रोतको भनाई छ । 

तर पार्टी फुटका बेला अन्तिम समयमा आएर आफूलाई पौडेलले धोका दिएकाले केही शशंकित भएता पनि पौडेलले आफूलाई विश्वास दिलाए सहयोग गर्ने निष्कर्षमा पुगेको स्रोतको भनाई छ । 

कोइराला अप्ठेरोमा 

उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्रीका लागि आफूलाई सहयोग गर्न र बरिष्ठ नेता देउवाले प्रधानमन्त्री हुने भए कार्यवहाक सभापति दिनु पर्ने अडान सभापति कोइरालासामू राखेपछि कोइराला अप्ठेरोमा परेका छ । 

संस्थापन पक्षकै नेता पौडेलले आफूले संसदीय दलको नेता हुँदा खलेको भूमिका, पार्टीमा पुर्‍याएको योगदान, निर्वाचनमा पार्टीको पक्षमा बनाएको जनलहर, स्थानीय तहसम्म पुगेर जनतामाझ पार्टीको नीतिवारे बुझाएको तथा कार्यकतालाई प्रशिक्षण दिएर पार्टीलाई ठूलो बनाउन भूमिका खेलेको लगायतका कार्यक्रम सफल भएकाले आफूलाई प्रधानमन्त्री बनाउनु पर्ने अडानराखेपछि कोइराला थप अप्ठेरोमा परेका हुन् । 

पौडेलले मुलुक अत्यन्त कठिन समयमा रहेकाले एक वर्षभित्रमा संविधान जारी गर्ने भनि जनतालाई दिएको पूर्वप्रतिबद्धता पूरा गर्न संविधान जारी गरुन्जेलसम्मका लागि भए पनि प्रधानमन्त्री बनाउनु पर्ने वताउदै आएका छन् । स्रोतका अनुसार कोइराला परिवारकै कारण आफू पटक-पटक राजनीतिमा पछि परेको भन्दै यसपटक प्रधानमन्त्री बन्न पाउनु पर्ने वताएका छन्  । 

देउवासंग मिल्नु भन्दा पौडेलसंग मिल्न सजिलो भएकाले सभापति कोइराला पौडेललाई मनाउने प्रयासमा लागिरहेका छन् । पौडेलले भने आफूले कुनै हालतमा नछोड्ने जवाफ कोइरालालाई दिँदै आएका छन् । 

नेतात्रय नै आन्तरिक छलफलमा 

शीर्ष नेतात्रय कोइराला, देउवा र पौडेलले सभासद तथा केन्द्रीय सदस्यहरुसंग छलफल गरिरहेका छन् । पछिल्लो समय भएको सभासदहरुसंगको छलफलमा कोइरालाले प्रधानमन्त्रीका लागि आफूलाई सहयोग गर्नु पर्ने वताएका छन् भने देउवाले प्रधानमन्त्रीवारे आफू निकटका सभासद तथा केन्द्रीय नेताहरुसंग आन्तरिकरुपमा छलफल गरिरहेका छन् । 

यसैगरी उपसभापति पौडेलले पनि आफू सभासदहरुसंगको छलफललाई तिव्रता दिएका दिइरहेका छन् । पौडेलले सभासदहरुसंगको छलफलमा पनि  आफूले पार्टीमा पुर्‍याएको  योगदानका आधारमा प्रधानमन्त्रीका लागि सहयोग गर्न भनिरहेका छन् । 

असन्तुष्ट नेताहरु पौडेलको पक्षमा   

समानुपातिक सभासद चयनप्रति असन्तुष्ट बनेका सभापति कोइराला निकट महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. रामशरण महत, प्रवक्ता दिलेन्द्र बडुँ लगायतका नेताहरु कोइरालासंग असन्तुष्ट बनेका छन् । आफू निर्वाचित महामन्त्री भएपनि आफूलाई बाइपास गर्दै सभापतिले मनोनित महामन्त्री कृष्ण सिटौलालाई प्राथमिकता दिएपछि प्रकाशमान सिंह पछिल्लो समय सभापतिसंग असन्तुष्ट रहँदै आएका छन् ।  यसैगरी नेताहरु बालकृष्ण खाँड, सुरेन्द्र पाण्डेसहित केही नेताहरु बरिष्ठ नेता देउवासंग असन्तुष्ट भएकाले पनि पौडेलले उनीहरुको साथ पाउने सम्भावना बलियो बन्दै गएको स्रोतको भनाई छ । 

No comments:

Post a Comment