Thursday, August 7, 2014

‘चरी मर्‍यो सिसैको गोलीले’.......

२३ असार ०७० : धादिङबाट फर्कंदै गरेका डन चरीलाई प्रतिद्वन्द्वी समूहले सतुंगलमा गोली हान्यो ।

२१ साउन ०७१ : धादिङ जाँदै गरेका डन चरीलाई सीतापाइलामाथि भीमढुंगामा प्रहरीले गोली हान्यो ।

एक वर्षअघि डन राधेको समूहले हानेको गोली खाएर पनि दिनेश अधिकारी चरीले ज्यान जोगाएका थिए, तर यसपालि प्रहरीको गोलीको अगाडि उनको केही लागेन, घटनास्थलमै निधन भयो ।

दर्जनौँ आपराधिक घटनाका आरोपी चरी प्रहरीको मोस्टवान्टेड सूचीमा थिए । पक्राउ गर्न खटिएका प्रहरीलाई उनले विदेशबाट फोन गरी ज्यान मारिदिने धम्कीसमेत दिँदै आएका थिए ।

धादिङ एमालेका पूर्व क्षेत्रीय उपाध्यक्ष उनी केपी ओली, राजेन्द्र पाण्डे, महेश बस्नेतलगायत नेताको प्रिय थिए । चरीलाई संरक्षण गरेको भनेर मिडिया र सामाजिक सन्जालमा ओलीको आलोचना पनि हुँदै आएको थियो ।

तर, ओली समूहकै नेता वामदेव गौतम गृहमन्त्री भएपछि केन्द्रीय नेताहरूसँग चरीको सम्बन्ध बिग्रिएको थियो । एमालेकै नेता गृहमन्त्री भएको वेला सफाइ पाउनुपर्ने उनको मान्यता थियो । तर, गृहमन्त्री गौतम र ओलीले समेत सहयोग नगरेको भन्दै उनी रुष्ट भएका थिए । संरक्षण नगरेको भन्दै नेता र पक्राउ गर्न खोजेको भन्दै प्रहरीलाई धम्क्याउन थालेपछि चरी प्रहरीको तारो बनेका थिए । बुधबारको इन्काउन्टर त्यसैको परिणाम भएको स्रोतको दाबी छ ।

आफूलाई प्रहरीले पक्राउ गर्दा लागुऔषधसमेत राखिदिएर गम्भीर मुद्दामा फसाउन सक्ने भन्दै उनी सुरक्षित तरिकाले आत्मसमर्पणको तयारीमा थिए । प्रेमिका खुश्बु ओलीसँग नियमित सम्पर्कमा रहेको स्रोत बताउँछ ।

गुन्डागर्दीका नाइकेमध्ये पनि उनी उग्रस्वभावका व्यक्ति मानिन्थे । कहिल्यै नसुध्रने भएकाले यस्ता व्यक्तिलाई इन्काउन्टर गर्नुपर्ने प्रहरी अधिकारीले उठाउँदै आएका थिए ।

कसरी भए डन ?

धादिङको त्रिपुरेश्वर घर भएका उनी पहिला कांंग्रेसनिकट थिए । झगडालु स्वभाव भएकाले कांग्रेसभित्र पनि उनको झगडा भइरहन्थ्यो । पछिल्लो समय उनका परम् शत्रु रहेका राधे भण्डारी पहिला उनका मित्र थिए । दुवैजना कांग्रेसमा सँगै राजनीति गर्दथे ।

प्रहरीका अनुसार ०६१ बाट उनले काठमाडौंमा गुन्डागर्दी सुरु गरेका हुन् । गुन्डागर्दीमा सुरुमा राधे र चरी एउटै समूहमा थिए । दुईजनाबीच सम्बन्ध चिसिँदै गएपछि धादिङमा दुई पक्षबीच पटक–पटक ‘ग्याङफाइट’ हुन थाल्यो । त्यसपछि चरी कांग्रेस छाडेर एमालेतर्फ लागे । एमालेमा नेताहरूको समेत संरक्षण पाएपछि उनको झन् धेरै प्रचार भएको हो । काठमाडौंको नयाँबजार क्षेत्रलाई अखडा बनाएर गुन्डागर्दी र हप्ता असुली सुरु गर्दै आएका थिए । पहिलोपटक उनी ०६२ मा पक्राउ परेका हुन् । त्यसवेला उनी टोले गुन्डा थिए । त्यसपछि पाँचपटक विभिन्न अपराधमा उनी पक्राउ परे । तर पनि कहिल्यै सुध्रिएनन् । साढे दुई वर्षअघि गैँडाको खागसहित सिआइबीले उनलाई पक्राउ गरेको थियो । त्यो मुद्दामा पनि सफाइ पाई छुटेका थिए ।

चर्चित हुनका लागि ‘चरी’ उपनाम राखेका उनले केही वर्ष जापानमा समेत बिताएका थिए । पछिल्लो समय उनमा क्यासिनोको लत बसेको थियो । क्यासिनोमा करोडभन्दा बढी हारेको उनीनिकट बताउँछन् । खर्च जुटाउन व्यापारी र ठेकेदारलाई धम्क्याउनेबाहेक उनको अरू स्रोत थिएन । जुवाको लतले पनि उनी थप अपराधतर्फ लागेका थिए । साभार - नयाँ पत्रिका दैनिकबाट

No comments:

Post a Comment